तामाकोसीले सार्वजनिक गर्याे ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट ल्याएको छ ।
हिजो आयोजित गाउँसभाको सातौँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले आगामी वर्षका लागि कुल ७५ करोड ६६ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । तामाकोशी गाउँपालिकाले आगामी वर्ष संघीय र प्रदेश सरकारबाट ६६ करोड ६५ लाख ५० हजार आम्दानी हुने अनुमान गरेको छ ।
यस्तै, गाउँपालिकाको दहत्तर बहत्तर विक्रिबाट ६ करोड ५० लाख, आन्तरिक आम्दानी बापत एक करोड र आन्तरिक स्रोतबाट १ करोड ५० लाख गरि ९ करोड आम्दानी हुने अनुमान छ ।
पालिकाले संघीय र प्रदेश सरकारको अनुदानतर्फ ३४ करोड ९ लाख ६० हजार अनिवार्य विनियोजन गरेको छ । तामाकोशीले आगामी आर्थिक वर्ष वडाको पूर्वाधार विकासका लागि ७ करोड विनियोजन गरेको छ । गाउँपालिकाले २४ करोड ५२ लाख ४० हजार अनिवार्य भुक्तानी बाँकी रहेको जनाएको छ । त्यसमध्य २ करोड योजनाको भुक्तानी बाँकी रहेको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा अध्यक्ष प्रोण प्रताप केसीले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष केसीले योजना कार्यान्वयन गर्दा १० लाख भन्दा माथिको योजनाहरुलाई बोलपत्रको माध्यमबाट गरिने कार्यको सकारात्मक प्रभाव रहेको भन्दै त्यसलाई निरन्तरता दिने बताउनुभयो ।
तामाकोशीले आगामी आर्थिक वर्षलाई ‘समृद्ध, आधुनिक र सुन्दर गाउँपालिका’ निर्माणको आधार वर्षको रुपमा लिने निति तय गरेको छ ।